काठमाडौं । सरकारले साउन महिनाको दोस्रो पाक्षिक ‘करदाता प्रोत्साहन पुरस्कार’ अन्तर्गतका विजेताको नाम सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले लक्की ड्रमार्फत विजेताहरू घोषणा गरेका हुन्।
यस पटकको १० लाख रुपैयाँ राशिको बम्पर पुरस्कार एक उपभोक्ताले ३५० रुपैयाँको खरिदमा जितेका छन्। आन्तरिक राजस्व विभागका अनुसार ‘गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर’बाट सामान खरिद गर्दा जारी भएको ०२६८८८९७९०३९ नम्बरको बिल कुपनमार्फत ती उपभोक्ता बम्पर विजेता बनेका हुन्। कर कट्टीपछि उनले सात लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
साउन १६ देखि ३१ गतेसम्म भएका करिब साढे तीन करोड कारोबारमध्येबाट बम्पर विजेता छनोट गरिएको विभागले जनाएको छ।
यस्तै, सोही अवधिका लागि १६ जना दैनिक विजेता पनि घोषणा गरिएको छ। दैनिक विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। २५ प्रतिशत कर कट्टीपछि उनीहरूको हातमा एक लाख रुपैयाँ पर्नेछ।
दैनिक विजेताका कुपन नम्बरहरू क्रमशः ०३०३४२२७९९५६, ०१९२५६५१०९२५, ०२६१४४५१५००५, ०३१७९९९३५०८२, ०१७७६६१०७००५, ०१८१२८७५९४०९, ०२११८४०००६५३, ०२४६७३१७१९०४, ०२५३५७३३१९४१, ०२३८५६८८५३७०, ०२२४५८०९६६६८, ०१६६६७२९०१४६, ०२००३७२८३७४७, ०२९१८४६२२६६५, ०२८६५७७७५४५९ र ०२७७११४८७१४५ रहेका छन्।
विभागका अनुसार सार्वजनिक भएका सबै विजेताले आगामी १६ भदौभित्र पुरस्कार दाबी गरिसक्नुपर्नेछ। तोकिएको समयभित्र पुरस्कार दाबी नगरेमा पुरस्कार रद्द हुन सक्ने व्यवस्था छ।
उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्न तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यो योजना सञ्चालन गर्दै आएको हो। बैंक तथा वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा स्वतः सहभागी हुनेछन्। तर पुरस्कार प्राप्त गर्न खरिदको बिल भने अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।
नगदमा खरिद गर्ने उपभोक्ताले भने खरिदपछि प्यान वा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी उपहार योजनामा सहभागी हुने कुपन लिनुपर्ने व्यवस्था गरिएको छ।




