जर्मनी, कात्तिक १६ गते । जर्मनीमा जेन–जी युवाहरूको नेतृत्वमा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । शिक्षा क्षेत्रमा लगानी वृद्धि, जीवनयापनको लागत घटाउन र अनिवार्य सैन्य सेवाको विरोध गर्दै हजारौँ युवा सडकमा उत्रिएका छन् ।
जर्मनीका बर्लिन, फ्र्याङ्कफर्ट र म्युनिखसहित ३४ सहरमा प्रदर्शन भएको हो । ‘जेन–जी रेगेल्ट’ नामक अभियान समूहले आयोजना गरेको प्रदर्शनमा युवाहरूले बढ्दो महँगी र शिक्षामा पर्याप्त लगानी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीहरूले कम्तीमा दुईवटा पसलमा लुटपाट गर्नुका साथै अन्य केही पसलमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । प्रहरीले सर्वसाधारणलाई सहरको केन्द्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
यस वर्ष युरोपका विभिन्न देशमा जेन–जी पुस्ताको नेतृत्वमा प्रदर्शन हुँदै आएका छन् । सर्बियामा विद्यार्थी आन्दोलनले राजनीतिक क्षेत्रमा प्रभाव पारेको छ भने फ्रान्समा भएका प्रदर्शनका क्रममा पनि हिंसा र लुटपाटका घटना भएका छन् ।





