काठमाडौँ, कात्तिक १५ गते । डकार युथ ओलम्पिकको उद्घाटन समारोहमा भएको मार्चपास्टमा नेपालको झन्डा बोक्ने गौरव पौडी खेलाडीद्वय आर्र्या महर्जन र अभिव प्रधानले पाउनुभएको छ । यी दुवैले हालै सम्पन्न आइची नागोया एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।
अफ्रिकी भूमिमा पहिलो पटक ओलम्पिक इभेन्ट हुँदैछ । सेनेगलको डकारमा शनिबार मध्यराति रङ्गीचङ्गी, झकिझकाउ कार्यक्रमबीच डकार युथ ओलम्पिकको उद्घाटन समारोह सम्पन्न भएको थियो । जसमा नेपालसहित २०४ राष्ट्र र युथ रेफुजी ओलम्पिक टिमले पनि मार्चपास्ट गरेका थिए ।
डकार युथ ओलम्पिक अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म हुनेछ । प्रतियोगितामा नेपालले पौडी, उसु र जुडो गरी तीन खेलमा सहभागिता जनाउनेछ ।
नेपाली टिमको सेफ दि मिसनमा एनओसीका उपमहासचिव रामजीबहादुर श्रेष्ठ हुनुहुन्छ यसैगरी एनओसीका सचिव भीमसिंह गुरुङ अफिसियलको भूमिकामा हुनुहुन्छ । नेपाली टोलीमा पौडीतर्फ प्रशिक्षक शंकर कार्की तथा खेलाडी अभिव र आर्या रहनुभएको छ । उसु खेलमा लानम लामाको प्रशिक्षकत्वमा खेलाडी रश्मि तामाङले खेल्नुहुनेछ । जुडोका शुभानन तिमिल्सिना प्रतियोगितामा सहभागी हुनुहुनेछ । डकार युथ ओलम्पिकमा करीब २६५० युवा खेलाडीको सहभागिता रहेको छ । यस युथ ओलम्पिकमा २५ प्रतिस्पर्धात्मक र १० इन्गेजमेन्ट खेल समावेश छन् । डकार युथ ओलम्पिक सेनेगलका तीन शहर डकार, डियामनियाडो र सालीमा खेलाइनेछ ।





