२३ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। हङकङले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा २ सय ४६ रनमा अलआउट भयो।
नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए। यस्तै, आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए। नेपालको इनिङ ध्वस्त पार्ने क्रममा हङकङका एइजाज खानले ४ विकेट लिए। यासिम मुर्तजाले २ तथा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान १–१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो। हङकङका ब्याटरलाई रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिए। नेपाललाई पराजित गरेसँगै हङकङ पनि नेपालसँगै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। हङकङको जितसँगै आयोजक मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ।




