ललितपुर । नेपाल संवत् ११४७ को अवसरमा नेपाल भाषा मंका खलः ललितपुरले ललितपुर महानगरपालिका वडा नं. १६ को सहकार्यमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल देशकै गौरव तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाःले सम्पूर्ण नागरिकलाई ऋणमुक्त गरी नयाँ संवत् सुरु गरेको ऐतिहासिक दिनको स्मरणमा कछलाथ्व पारुदेखि नेवार समुदायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने व्यवस्था हुनुका साथै नेपाल संवत्लाई राष्ट्रिय संवतको रूपमा घोषणा गरिसकिएको अवस्थामा यसको महत्त्वलाई अझ व्यापक बनाउँदै सबै नेपालीमाझ एकता र सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेपाल भाषा मंका खलः ललितपुरका अध्यक्ष महेन्द्र महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
नेपाल भाषा मंका खलः ललितपुरको नेतृत्वमा गत वर्षदेखि समारोह समिति गठन गरी २१ जातीय संस्थासँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
नेपाल संवत् ११४६ को कौलागा दशमी देखि बुद्धिचाल प्रतियोगिता, भिन्तुना कालबिल, नेपाल भाषा पात्रो प्रकाशन, थिति सम्बन्धी पुस्तक प्रकाशन, मन्दिर तथा सम्पदा सम्बन्धी कार्यक्रम, सिमतया र नःसंचा लगायतका सांस्कृतिक गतिविधि सञ्चालन गरिने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो। यसैगरी, सत्य मोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार वितरण लगायतका कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ।





