गत भदौ १० गते गएको बिनाशकारी बाढी परेका पीडितहरुलाइ सहयोग गर्ने उधेश्यले चित्रकला प्रदर्शनी आयोजना भएको छ । 'आर्ट बुम'ले परम्परागत आरोग्य संस्था नेपाल, नेपाः ब्याङ्क्वेट र प्रेम मोहन गीता पुरस्कार गुठीसँग मिलेर बाढीपीडितको सहयोगका लागि कला प्रदर्शनी 'आर्ट फर होप' आयोजना गरेको छ।
नयाँ बजारस्थित नेपाः ब्याङ्क्वेटमा सञ्चालन गर्नेछ। आर्ट बुमका अध्यक्ष रत्न शाक्यले देशमा आएको विपत्तिमा परेकाहरूलाई कला क्षेत्रबाट केही योगदान दिन यो प्रदर्शनी आयोजना गर्न लागिएको बताउनुभयो। उहाँले भन्नुभयो, "यस प्रदर्शनीमा राखिने पेन्टिङहरूको साधारण मूल्य तोकिएको छ। धेरैभन्दा धेरै पेन्टिङ बिक्री गरेर सङ्कलन भएको रकम सरकारलाई हस्तान्तरण गर्ने हाम्रो उद्देश्य हो।"
यस कला प्रदर्शनीमा कुल २५ जना वरिष्ठ तथा युवा कलाकारका पेन्टिङहरू राखिने बताइएको छ। प्रदर्शनीमा कला प्राध्यापक राधेश्याम मुल्मी, 'आर्ट अन डस्ट' कलाकार तीर्थमान स्थापित, वरिष्ठ मिथिला कलाकार रञ्जना लाल, वरिष्ठ कलाकार तथा मूर्तिकार धर्मरत्न शाक्य, राजेश मानन्धर, आर्य राजभण्डारी, निरू शाह, रुक्साना महर्जन, मल्लिका उदास, सञ्जय प्रधान, रत्न शाक्य, चाँदनी बज्राचार्य, रवीन्द्र भन्ते, सजनी श्रेष्ठ, राजु गोटाकोठे लगायतका कलाकारका चित्रकला रहनेछन्। उक्त कला प्रदर्शनी भदौ १९ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।





