भक्तपुर — दसैँ पर्व नजिकिँदै गर्दा भक्तपुरको ऐतिहासिक ब्रह्मायणी मन्दिर परिसरमा सामूहिक सरसफाइ अभियान सञ्चालन गरिएको छ। दसैँका अवसरमा मन्दिरमा ठूलो संख्यामा भक्तजनको आगमन हुने तथा विभिन्न दिनमा मेला लाग्ने भएकाले भक्तपुर नगरपालिकाले मन्दिर परिसर तथा आसपासको क्षेत्रलाई सफा र व्यवस्थित बनाउन सरसफाइ अभियान सञ्चालन गरेको हो।
भक्तपुर नगरपालिका–९ स्थित ब्रह्मायणी मन्दिर परिसरमा बिहानैदेखि जनप्रतिनिधि, नगरपालिका कर्मचारी, शिक्षक–विद्यार्थी, विभिन्न संघसंस्था, क्लब तथा स्थानीय बासिन्दा सरसफाइमा सहभागी भएका थिए। सहभागीहरूले मन्दिर परिसर, आसपासका सडक तथा सार्वजनिक स्थलमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए।
सरसफाइ कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सार्वजनिक स्थलप्रति नागरिकमा अपनत्व तथा स्वच्छताको भावना विकास गर्ने उद्देश्यले नगरपालिकाले नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउनुभयो।
उहाँले दसैँका बेला ब्रह्मायणी मन्दिरमा भक्तजनको चाप बढ्ने भएकाले धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित राख्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।
दसैँका विभिन्न दिनमा ब्रह्मायणी मन्दिरमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको सरसफाइ र संरक्षणमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको सरसफाइमा सहभागीहरूले बताएका छन्।
नगरपालिकाले यस्ता अभियानलाई नियमितता दिँदै सार्वजनिक तथा सम्पदा क्षेत्रको सरसफाइमा स्थानीय बासिन्दाको सहभागिता बढाउने जनाएको छ।




