६ कात्तिक, ललितपुरमा परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थासहित नचाइने अष्टमातृका देवगणको नृत्य बिहीबार सम्पन्न भएको छ। दसैँको नवरात्रदेखि सुरु भई एकादशीसम्म सञ्चालन हुने यो नृत्य परम्परागत विधि र धार्मिक मान्यताअनुसार सम्पन्न भएको अष्टमातृका नृत्य व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिनुभयो।
मल्लकालीन राजा श्रीनिवास मल्लको पालादेखि नेपाल संवत् ७८४ मा सुरु भएको मानिने यस तान्त्रिक नृत्य परम्पराले ३६२ वर्ष पूरा गरेको छ। दसैँको आश्विन शुक्ल प्रतिपदाका दिन ललितपुरको नकबहिल परिसरमा विधिपूर्वक पूजा गरी यो नृत्य सुरु गर्ने परम्परा छ। ऐतिहासिक महत्त्व बोकेको यस नृत्यले नेवाः सभ्यताको मौलिकता, धार्मिक आस्था र सांस्कृतिक वैभवलाई जीवन्त राख्दै आएको छ।
व्यवस्थापन समितिका अध्यक्ष शाक्यका अनुसार नेवाः समुदायका शाक्य तथा बज्राचार्य वंशका कलाकारहरूले प्रस्तुत गर्ने यो नृत्य राजा श्रीनिवास मल्लको पालादेखि सुरु भएको हो। मानिसको जीवनमा रहेका आठ महाभय—जल, अग्नि, सिंह, नाग, किसि, खुँ, जेल र भूतलाई आधार मानेर यस नृत्यको प्रस्तुति गरिँदै आएको छ।
घटस्थापनाको दिन बाजागाजासहित नागबहाल हुँदै पट्कोबाट मङ्गलबजार पुग्ने देवगणलाई तलेजुका पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूलचोकमा प्रवेश गर्ने अनुमति दिने परम्परा छ। त्यसपछि मात्र यो नृत्य सर्वसाधारणका लागि औपचारिक रूपमा प्रस्तुत गरिन्छ।
नृत्यको पहिलो चरण नकबहिलमा सम्पन्न भएपछि ललितपुर दरबार क्षेत्रको मूलचोकमा नृत्य प्रस्तुत गरी पुनः नकबहिलमा फर्कने परम्परा छ। पाँच दिनसम्म बहनीमा नृत्य प्रस्तुत गरिन्छ भने फूलपाती र दशमीका दिन मूलचोकमा विशेष नृत्य देखाइन्छ। बिहीबार एकादशीका दिन नकबहिलको दबलीमा नृत्य प्रस्तुत गर्दै यस वर्षको नृत्य सम्पन्न गरिएको हो।
शक्तिको आराधनासँग सम्बन्धित यस नृत्यमा १३ जना देवगणले तान्त्रिक विधिअनुसार मण्डलाकारमा नृत्य प्रस्तुत गर्छन्। देवगणले विशेष मुकुट, परम्परागत तान्त्रिक वस्त्र तथा आभूषण धारण गरी नृत्य गर्ने परम्परा रहेको छ।
यस नृत्यमा सिंघ्रिणी, भैरव, गणेश, कुमार, ब्रह्मायणी, महेश्वरी, कौमारी, वैष्णवी (हरित वर्ण), वाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मी र व्याघ्रिणीसहितका देवगण सहभागी हुन्छन्। धार्मिक विश्वास, तान्त्रिक विधि र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्परासँग जोडिएको अष्टमातृका नृत्य ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा रहँदै आएको छ।




