ललितपुर । विपद्का समयमा उद्धार, राहत तथा सहजीकरणका कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले ललितपुरमा विपद् उद्धार तथा राहतसम्बन्धी व्यावहारिक अभ्यास सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा सोमबार मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा उक्त अभ्यास सञ्चालन गरिएको हो।
अभ्यासका क्रममा विपद्का विभिन्न परिस्थितिमा अपनाउनुपर्ने उद्धार तथा राहतसम्बन्धी प्रक्रिया र कार्यविधिको व्यावहारिक प्रदर्शन गरिएको थियो। साथै, विपद्का समयमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न सम्बन्धित निकायबीच आवश्यक समन्वय, पूर्वतयारी र कार्यक्षमता अभिवृद्धिमा समेत जोड दिइएको थियो। विपद्का बेला हुन सक्ने सम्भावित क्षति न्यूनीकरण, उद्धार तथा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अभ्यासले सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, विपद् व्यवस्थापनमा संलग्न विभिन्न निकायबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउन समेत यस्ता अभ्यास महत्वपूर्ण हुने बताइएको छ।





