काठमाडौँ, असोज ९ गते । इन्द्र जात्रा (यें याः) को अवसरमा जीवित देवी कुमारी भवानीको नित्य पूजामा काठमाडौंका ५८ घर माली (गथु) समुदायले पूजा सामग्रीसहित पूजा चढाउने परम्परालाई निरन्तरता दिइएको छ। परम्पराअनुसार माली समुदायले इन्द्र जात्राका दिन कुमारी भवानीको नित्य पूजामा पंखा फूल (स्वाँ), सचिका स्वाँ, सम्ये ज्वलँ, फलफूल तथा मिठाईसहित पूजा ज्वलँ चढाउने प्रचलन रहँदै आएको छ।
केही दशकदेखि निरन्तरता पाउन नसकेको उक्त परम्परालाई मरु सतः हः गुठीका नायः सुरज मालाकारको पहलमा विसं २०८१ सालदेखि पुनः सञ्चालनमा ल्याइएको हो। यसैको निरन्तरतास्वरूप विसं २०८३ असोज ९ गते शुक्रबार बिहान ९ बजे कुमारी भवानीमा विधिपूर्वक पूजा सम्पन्न गरिएको छ। कार्यक्रममा नेपाल माली समाजसँगै माली समुदायका ठूला तथा साना गुठीको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
माली समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति तथा धार्मिक विधिलाई पुस्तान्तरण गर्दै संरक्षण र निरन्तरता दिने उद्देश्यले उक्त पूजालाई निरन्तरता दिँदै आएको जनाएको छ। परम्पराको संरक्षण तथा निरन्तरताका लागि सहभागी सम्पूर्ण गुठी, संस्था तथा समुदायप्रति आयोजकले आभार व्यक्त गरेको छ।





