काठमाडौँ, ६ साउन : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा बुधबार आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यक पर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्नसमेत निर्देशन दिनुभएको हो ।सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउँदै कानुन निर्माण र बजेट कार्यान्वयनलाई नतिजासँग जोड्न पनि उहाँले जोड दिनुभयो । उहाँले प्रत्येक कर्मचारीले आफ्नो शाखाबाट दैनिक रूपमा सम्पन्न भएका कामको जिम्मेवारी लिनुपर्ने बताउँदै विधि र प्रक्रिया पालना गर्दै ऐन–कानुनले निर्धारण गरेका उद्देश्यअनुसार परिणाममुखी ढङ्गले काम गर्नसमेत निर्देशन दिनुभयो ।
सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायमा हुने ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै जिम्मेवारी पन्छाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । कानुनविपरीत काम गर्न दबाब आए त्यसको जानकारी सिधै आफूलाई गराउन कर्मचारीलाई आग्रह गर्दै मन्त्रालयमा स्थापना भएको ‘फ्रन्ट डेस्क’लाई प्रभावकारी बनाउन र सम्भव भएका सबै सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउन निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गत आर्थिक वर्षमा पुँजीगत खर्च अपेक्षाकृत कमजोर रहेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन प्रभावकारी बनाउन सबै महाशाखा र शाखाले सुरुदेखि नै नतिजामुखी ढङ्गले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।





