काठमाडौं । देशभर नेपाल भाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यले नेवाः पत्रकार राष्ट्रिय दबुले काठमाडौंमा पहिलोपटक बागमती प्रदेश अधिवेशन आयोजना गरेको छ।
अधिवेशनमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागी पत्रकारहरूले नेपाल भाषाको संरक्षण, प्रवर्द्धन र उत्थानका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले नेपाल भाषामा हुने पत्रकारितालाई थप व्यवस्थित र प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
अधिवेशनले बागमती प्रदेशभित्रका आठ जिल्लालाई समेटेर बागमती प्रदेश समिति गठन गर्ने नेवाः पत्रकार राष्ट्रिय दबुको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
नवनिर्वाचित समितिमा चयन भएका जिल्ला पार्षदहरूले आगामी भदौ १९ र २० गते गोरखामा हुने अधिवेशनमा सहभागी भई आफ्ना धारणा तथा सुझाव राख्न पाउने व्यवस्था गरिएको छ।
अधिवेशनले नेपाल भाषा पत्रकारिताको संस्थागत विकाससँगै पत्रकारहरूको हकहित र क्षमता अभिवृद्धिका लागि थप प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।





