काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भोलि भदौ १० गते हुने प्रश्नोत्तर कार्यक्रममा ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग अधिकतम १५ वटा प्रश्न सोध्न सकिने व्यवस्था भए पनि तोकिएको अवधिमा ११ वटा मात्र प्रश्न दर्ता भएको संसद् सचिवालयले जनाएको छ। प्रश्नमाथि प्रधानमन्त्री शाहले भदौ १० गतेको बैठकमा औपचारिक रूपमा जवाफ दिने कार्यक्रम छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नो कोटाअनुसार ७ वटा प्रश्न दर्ता गर्न पाउने भए पनि ३ वटा मात्र प्रश्न दर्ता गराएका छन्। रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराउनुभएको छ।
यस्तै, नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपा (एमाले) बाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनुभएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेश हमाल तथा श्रम संस्कृति पार्टीबाट हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खुश्बु ओलीले प्रश्न दर्ता गराउनुभएको संसद् सचिवालयले जनाएको छ।
सभामुखको रुलिङअनुसार सबै दलबाट कम्तीमा एक–एक प्रश्नको प्रतिनिधित्व सुनिश्चित गरिएको थियो। सोहीअनुसार छ दलबाट छ वटा प्रश्न र बाँकी प्रश्न प्रतिनिधिसभामा रहेको दलीय प्रतिनिधित्वका आधारमा भाग लगाइएको थियो।
संसद् सचिवालयले दलगत कोटाअनुसार रास्वपाका लागि ७, नेपाली कांग्रेस, एमाले र नेकपाका लागि २–२ वटा प्रश्नको कोटा तोकेको थियो। त्यस्तै, श्रम संस्कृति पार्टी र राप्रपाका लागि १–१ वटा प्रश्नको कोटा निर्धारण गरिएको थियो।
यसअघिका प्रश्नोत्तर कार्यक्रममा १५ वटा प्रश्नको सीमा तोकिए पनि मागभन्दा बढी प्रश्न दर्ता हुने अभ्यास रहँदै आएको थियो। यसपटक भने तोकिएको समयभित्र ११ वटा प्रश्न मात्र दर्ता भएका छन्।





