Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

कृष्णभिरमा नयाँ ट्र्याक खोलिएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा

द्वारा फाल्चा मिडियाSeptember 17, 20263:01 AM2 min read

Advertisement

Leaderboard728 × 90 px
कृष्णभिरमा नयाँ ट्र्याक खोलिएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा

चितवन । बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि यातायात सेवा पुनः सञ्चालनमा आएको छ । सडक भासिएपछि करिब १८ दिनदेखि अवरुद्ध रहेको सडकमा नयाँ ट्र्याक निर्माण गरी दुईतर्फी यातायात सञ्चालन गरिएको हो ।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभिरमा करिब १०० मिटर सडक भासिएको थियो । सडक पूर्णरूपमा क्षतिग्रस्त भएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर वैकल्पिक ट्र्याक निर्माण थालिएको थियो ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम सम्पन्न भएपछि आजदेखि नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो । सडक पुनःस्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको थियो ।

कृष्णभिरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको सडकसम्बन्धी काम पनि तत्कालका लागि स्थगित गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा यातायात सञ्चालनमा आएपछि तुइन खोलामा भइरहेको काम रोकिएको जानकारी दिनुभयो ।

कृष्णभिर सडकखण्ड लामो समय अवरुद्ध हुँदा ठूला सवारीसाधनलाई संघीय राजधानी आवतजावतमा समस्या भएको थियो । यसको असर राजधानीमा एलपी ग्यासको आपूर्तिमा समेत परेको बताइएको छ ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीमा जलसतह बढेको थियो । त्यसपछि भदौ १४ गते आएको थप बाढीका कारण कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक क्षतिग्रस्त भएको थियो । अन्य स्थानमा यातायात सञ्चालनमा आए पनि कृष्णभिरमा सडक नै भासिएपछि लामो समय समस्या भएको हो ।

पृथ्वी राजमार्गको उक्त सडकखण्डबाट दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px