काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट करिब २० किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति बुढानीलकण्ठ क्षेत्रमा सञ्चालन गरेको अपरेसनका क्रममा उनीहरूलाई सुनसहित पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीनै जना चिनियाँ नागरिक हुन् । बरामद सुनको परिमाण करिब २० किलो रहेको बताइएको छ । पक्राउ परेका व्यक्तिको नाम तथा अन्य विवरण भने प्रहरीले तत्काल सार्वजनिक गरेको छैन ।
बरामद सुन कहाँबाट ल्याइएको थियो, यसको वास्तविक स्वामित्व कसको हो र सुनको अवैध कारोबारमा अन्य व्यक्ति वा समूहको संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले सुनको स्रोत, नेपालमा यसको प्रवेश प्रक्रिया तथा कारोबारमा संलग्न हुन सक्ने अन्य व्यक्तिबारे अनुसन्धान केन्द्रित गरेको जनाएको छ ।
घटनाबारे थप विवरण सार्वजनिक गर्न प्रहरी प्रधान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ । पत्रकार सम्मेलनमार्फत बरामद सुन, पक्राउ परेका व्यक्तिको विवरण तथा घटनासँग सम्बन्धित थप तथ्य सार्वजनिक गरिने अपेक्षा गरिएको छ । घटनाको थप अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालयले अघि बढाएको छ ।





